विश्व
ओमानको तट नजिकै व्यावसायिक जहाजमाथि हमला, १४ भारतीय चालक दलमध्ये १३ को उद्धार, एक बेपत्ता
भारतीय विदेश मन्त्रालयद्वारा घटनाको निन्दा, बेपत्ता नागरिकको खोजीका लागि ओमानसँग समन्वय भइरहेको जानकारी
ओमानको तट नजिकै व्यावसायिक जहाज ‘एमटी एल गाइया’ माथि हमला भएको छ। जहाजमा सवार १४ जना भारतीय चालक दलका सदस्यमध्ये १३ जनाको सुरक्षित उद्धार गरिएको छ भने एक जना बेपत्ता छन्।
ओमानको तट नजिकै व्यावसायिक जहाज ‘एमटी एल गाइया’ (MT L Gaia) माथि भीषण हमला भएको छ। आइतबार भएको उक्त हमलाको समयमा जहाजमा १४ जना भारतीय चालक दलका सदस्यहरू सवार रहेको बताइएको छ।
हमलामा परेका चालक दलका सदस्यहरूमध्ये १३ जनालाई सुरक्षित रूपमा उद्धार गरिएको छ भने एक जना भारतीय नागरिक अझै बेपत्ता रहेका छन्। बेपत्ता नागरिकको अवस्था हालसम्म अज्ञात रहेको बीबीसीले जनाएको छ।
भारतको विदेश मन्त्रालयले व्यावसायिक जहाजमाथि भएको यस हमलाको कडा शब्दमा निन्दा गरेको छ। मन्त्रालयले बेपत्ता भएका आफ्ना नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्रताका साथ अघि बढाइएको जानकारी दिएको छ।
ओमानस्थित भारतीय दूतावासले यस घटनाक्रमलाई निरन्तर रूपमा नजिकबाट नियालिरहेको र आवश्यक निगरानी गरिरहेको विदेश मन्त्रालयले स्पष्ट पारेको छ। बेपत्ता नागरिकको खोजी र उद्धार कार्यलाई प्रभावकारी बनाउन ओमानी अधिकारीहरूसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयको भनाइ छ।
यसैबीच, भारत सरकारले क्षेत्रीय तनावलाई तत्काल कम गर्न र शान्ति स्थापनाका लागि संवाद तथा कूटनीतिक माध्यम अपनाउन सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ।
विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा क्षेत्रीय तनाव घटाउँदै शान्ति पुनस्र्थापना गर्न र अन्तर्राष्ट्रिय जलमार्गमा व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्नसमेत जोडदार अपिल गरिएको छ।




