विश्व
बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन सवार रेलमार्गमा रुसी ड्रोन आक्रमण
जोनसन र युरोपेली सुरक्षा अधिकारीहरू बाहिरिएको केही समयमै पोल्यान्ड सीमा नजिकैको रेलमा आक्रमण, इन्जिनमा क्षति
युक्रेनमा पोल्यान्डको सीमा नजिकै एउटा यात्रुवाहक रेलमा रुसी ड्रोनले आक्रमण गरेको छ। बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन र युरोपेली सुरक्षा अधिकारीहरू सवार रेल सोही मार्ग भएर गएको केही समयपछि नै यो आक्रमण भएको हो।
युक्रेनमा पोल्यान्डको सीमा नजिकै एउटा यात्रुवाहक रेललाई निशाना बनाएर रुसले ड्रोन आक्रमण गरेको छ। बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन र युरोपका शीर्ष सुरक्षा अधिकारीहरू सवार अर्को रेल सोही मार्ग भएर गएको केही समयपछि नै यो आक्रमण भएको हो। आक्रमणबाट रेलको इन्जिनमा क्षति पुगेको भए पनि मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन।
बीबीसीका अनुसार यो घटना पोल्यान्डको सीमाबाट करिब दुई किलोमिटर मात्र टाढा रहेको युक्रेनको याहोदिन क्षेत्रमा भएको हो। पूर्वप्रधानमन्त्री जोनसनसँगै बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेल र युरोपेली देशका अन्य उच्च सुरक्षा अधिकारीहरू सोही रेलमार्ग हुँदै फर्किरहेका थिए। उनीहरू युक्रेनको राजधानी किभमा आयोजित एक सम्मेलनमा सहभागी भएर फर्कने क्रममा सो मार्ग प्रयोग गरेका थिए।
युक्रेनको सरकारी रेलवे कम्पनीले रुसी ड्रोनको वास्तविक निशाना कूटनीतिज्ञहरू सवार रेल नै हुन सक्ने आशङ्का व्यक्त गरेको छ। सम्भावित हवाई आक्रमणको खतरालाई मध्यनजर गर्दै सुरक्षा संवेदनशीलताका कारण कूटनीतिज्ञहरू सवार रेलको समयतालिकामा अन्तिम समयमा हेरफेर गरिएको थियो। जसका कारण उक्त विशेष रेल निर्धारित समयभन्दा केही अगाडि नै स्टेसनबाट प्रस्थान गरिसकेको थियो।
रेलवे अधिकारीहरूका अनुसार, आक्रमणमा परेको यात्रुवाहक रेलका यात्रुहरूलाई सम्भावित खतरा बुझेर आक्रमण हुनुभन्दा १५ मिनेटअघि मात्रै सुरक्षित रूपमा बाहिर निकालिएको थियो। त्यसको केही समयमै रुसी जेट-प्रोपेल्ड ड्रोनले रेलको इन्जिनलाई सिधै निशाना बनाएको थियो। समयमै यात्रुहरूलाई बाहिर निकालिएका कारण ठूलो दुर्घटना टरेको बताइएको छ।
यता रुसले पनि यस हवाई आक्रमणको पुष्टि गरेको छ। रुसी रक्षा मन्त्रालयका अनुसार पश्चिमी युक्रेनमा रहेको रेलवे पूर्वाधारलाई निशाना बनाएर यो आक्रमण गरिएको हो। यद्यपि, रुसले कूटनीतिज्ञहरूलाई नै लक्षित गरिएको भन्ने युक्रेनी दाबीबारे कुनै टिप्पणी गरेको छैन। युक्रेनमा जारी युद्धका बीच पश्चिमा देशका उच्च अधिकारीहरूको भ्रमण भइरहने यस रेलमार्गलाई निकै संवेदनशील मानिन्छ।




